Hari_rokaya_story

चमत्कारी हरिबहादुर रोकाया: जो आफ्नै खर्चमा जन्माउँछन् धावकहरु

HariRokaya


हरिबहादुर रोकाया दौडिरहेका छन्। उमेरले ६० कटेका उनी पहिले व्यवसायिक धावकका रुपमा दौडिए। अहिले अरु धावक तयार गर्न दौडिरहेका छन्। व्यवसायिक खेल जीवनमा सक्रिय हुँदा रोकायालाई आफ्नो प्रस्तुति कसरी सुधार गर्ने भन्ने चासो र चिन्ता रहन्थ्यो।

प्रशिक्षकका रुपमा भने उनको चासोको दायरा फराकिलो भएको छ। खेलाडीलाई प्रशिक्षण गराउने, प्रतिस्पर्धाका लागि तयार पार्नेदेखि उनीहरुका लागि आवश्यक सम्पूर्ण स्रोत व्यवस्थापनका लागि विश्व कीर्तिमानी अल्ट्रा धावक रोकाया ‘दौडिरहेका’ छन्।

आउँदो चैत २६ गते हुने जुम्ला–रारा म्याराथनको तयारीका लागि प्रशिक्षक रोकायासहित कर्णाली स्पोर्टस क्लबको व्यवस्थापकीय टिम केही दिनअघि काठमाडौँमा आएको थियो।

प्रशिक्षक रोकाया खेलाडीको पछि दौडिन छोडेर प्रतियोगिताका लागि प्रायोजक खोज्न काठमाडौँमा दौडधूप गर्दै थिए। तर उनको मन भने जुम्लातिर भागिरहन्छ।

‘मलाई कुन बेला यहाँ (काठमाडौँ) बाट फुत्कौँ जस्तो भइरहन्छ’, रोकायाले भने, ‘मन बस्दैन यहाँ। जुम्ला गएर काममा खट्न मन लाग्छ। खाली बस्नै सक्दिनँ।’

रोकायाले अहिले ट्रायल तथा अल्ट्रा धावक उत्पादन गरिरहेका छन् जुम्लामा बसेर। करिब तीन दशक सक्रिय खेल जीवनमा रहेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उपाधि जितेका रोकाया अहिले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाउन सक्ने खेलाडी उत्पादनमा लागेका छन्।

उनी खेलाडीको प्रदर्शन सुधारका लागि प्रशिक्षणमात्रै होइन, आवश्यक सामग्री जुटाउन पनि लागिरहेका छन्।

उनको प्रशिक्षणमा रहेकी धाविका राममाया बुढालाई आसन्न प्रतिस्पर्धाका लागि उपयुक्त जुत्ता चाहिएको रहेछ। करिब १८ हजार रुपैयाँ पर्ने जुत्ताका लागि रोकायाले काठमाडौँमा चिनजानका मान्छेसँग सहयोगको अपिल गर्दै थिए। टेलिफोनमा उनलाई सहयोगको वाचा आयो, खुसी देखिए।

‘मेरा खेलाडीलाई कुनै चिजको कमी नहोस् भन्ने लाग्छ’, रोकायाले भने, ‘तिमीहरुले आफ्नो प्रदर्शनमा मात्रै ध्यान देउ, अरु सबै म मिलाउँछु भन्छु।’

खेलाडी हुँदा र स्रोतको अभाव भएको जुम्ला जस्तो ठाउँमा प्रशिक्षक हुँदा बोक्नुपर्ने जिम्मेवारीको भारी फरक रहेको रोकायाले सुनाए।

Hari_rokaya_story
KSC Players

‘खेलाडी हुँदाको जिम्मेवारी आफ्नो प्रदर्शनमात्रै थियो। अहिले त्यसको आकार बढेको छ’, विसं २०४५ र २०४६ मा एथ्लेटिक्समा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी बनेर स्वर्णपदक पाएका रोकायाले भने।

आफू बिहान गएर बेलुका फर्किएको जुम्ला–रारामा म्याराथन गर्नका लागि आवश्यक सहयोग जुटाउँदै गर्दा रोकायाले खेलाडीबारे सोच्न बिर्सेका छैनन्।

‘प्रतियोगिता एउटा पाटो भयो, त्यसमा सहभागी हुने त खेलाडी हुन्’, उनले भने, ‘मेरा खेलाडीले राम्रो गरुन् भन्ने लाग्छ। मन थिर बस्नै सक्दैन, कति बेला खेलाडीका पछि दौडौँ जस्तो हुन्छ।’

जिल्ला खेलकुदमा प्रशिक्षकका रुपमा कार्यरत रोकायालाई अन्तर्राष्ट्रिय स्तरबाट अवसर आएको थियो। काठमाडौँमै बसेर काम गर्ने विकल्प पनि थियो। तर जुम्लासँगको माया उनले छोड्न सकेनन्।

स्रोतको अभावमा खेलाडीलाई पोषणको अभाव हुने हुँदा आफ्नै जमिन दिएर कुटानी–पिसानी मिल सञ्चालन गरेका छन्। त्यहाँ उनी आफै काम गर्छन्। ‘मिलमा कुटानी पिसानीको काम गर्छु खेलाडीलाई प्रशिक्षण दिएर खाली रहेको समयमा’, रोकायाले भने, ‘त्यसबाट आएको पैसा खेलाडीको पोषण तथा अरु आवश्यकता पूरा गर्नका लागि खर्च हुने गरेको छ।’

बिजुली, सोलार तथा भैपरी आउने मिस्त्री काम पनि गर्ने उनी खाली बस्न मनै नलाग्ने बताउँछन्। उनको सक्रिय जीवनको प्रमाण छन् हातमा उठेका ठेला र परेका चिराहरु। ‘यी त कर्म ठेला हुन्’, रोकायाले भने, ‘हत्केलामा कर्म रेखा हुन्छ भन्छन्, म चाहिँ यसलाई कर्म ठेला भन्छु, यी ठेला र चिरासँग नटुट्ने सम्बन्ध छ जस्तो लाग्छ।’

Source: Deshsanchar.com